बलिउड अभिनेता सोनु सुद बाढीपीडितका लागि राहत सामग्री लिएर काठमाडौँ आइपुगे
काठमाडौँ । बलिउड अभिनेता सोनु सुद नेपालमा आएका छन्। गत भदौ १० गते नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन्।
बाढीबाट नेपाल प्रभावित भएको समाचार बाहिरिनासाथ अभिनेता सुदले सामाजिक सञ्जालमार्फत नेपालप्रतिको गहिरो समवेदना प्रकट गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ ।’ सोही घोषणालाई कार्यान्वयन गर्दै उनी मंगलबार नेपालका विपद् प्रभावितहरूका लागि खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
संकटको कठिन घडीमा मानवीय सहायताका लागि सधैँ अग्रसर रहँदै आएका सुदको यो कदमले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। उनको यो सहृदयी सहयोग प्रति अहिले नेपालभरबाट आभार तथा प्रशंसा व्यक्त भइरहेको छ। राहत सामग्री छिट्टै नै बाढी प्रभावित वास्तविक पीडितसम्म पुर्याउने तयारी भइरहेको सम्बन्धित स्रोतले जनाएको छ।

0 Comments