कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक: यसरी हेर्नुहोस् मार्कसिटसहित (नतिजा हेर्ने सजिलो तरिकाहरू)

काठमाण्डौ | ५ असार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् ।

यस्तै आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थीले परीक्षा दिएकोमा ३६ हजार ४२० जना उत्तीर्ण भएका छन् । नियमित र आंशिकतर्फ गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ६८ हजार ९० जना उत्तीर्ण भएका छन् । ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

कक्षा १२ को नतिजा कसरी हेर्ने?

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ । साथै एसएमएस र फोन कल (IVR) मार्फत पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

१. वेबसाइटबाट (मार्कसिटसहित अनलाइन हेर्न)

आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहित नतिजा हेर्न तलका आधिकारिक वेबसाइटहरूमा लगइन गर्नुहोस्:

  • नेपाल टेलिकमको नतिजा पोर्टल: neb.ntc.net.np
  • राष्ट्रिय परीक्षा बोर्ड (NEB) को वेबसाइट: www.neb.gov.np

२. एसएमएस (SMS) मार्फत (इन्टरनेट नभएमा)

मोबाइलमा इन्टरनेट छैन भने चिन्ता लिनु पर्दैन। नेपाल टेलिकमको सिमकार्डबाट एउटा साधारण म्यासेज पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ:

आफ्नो mobile को म्यासेज बक्समा जानुहोस् र यसरी टाइप गर्नुहोस्:

NEB <स्पेस> तपाईंको सिम्बोल नम्बर

र यसलाई १६०० मा पठाइदिनुहोस् । (उदाहरणका लागि: NEB 12345678 लेखेर १६०० मा पठाउने)

३. फोन कल (IVR) मार्फत

तपाईंले फोन गरेर कम्प्युटरको आवाजमार्फत पनि आफ्नो नतिजा सुन्न सक्नुहुन्छ:

  • नेपाल टेलिकमको मोबाइल वा ल्यान्डलाइन फोनबाट १६०१ नम्बर डायल गर्नुहोस् र त्यहाँ भनिएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउनुहोस्।

कक्षा १२ को ग्रेडिङ सिस्टम (Grading System)

राष्ट्रिय परीक्षा बोर्डको नयाँ निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक (Theoretical) तर्फ कम्तीमा ३५ प्रतिशत अंक अर्थात 'D' ग्रेड ल्याउनै पर्नेछ। प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा मार्कसिटमा NG (Not Graded) लेखिनेछ र त्यस्ता विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन्।

नोट: यदि कुनै विषयमा NG (Not Graded) आएको छ भने बोर्डले चाँडै नै सञ्चालन गर्ने ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइनेछ। सबै उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको लागि शुभकामना!