रौतहट । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको उक्त दुखद दुर्घटनामा परी गढीमाई नगरपालिका–४ सुन्दरपुर बस्ने ६० वर्षीय रामानन्द महराको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट जोडदार ठक्कर दिएको थियो।
उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका महरालाई तत्काल उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगन्ज रिफर गरिएको थियो। तर, वीरगन्ज लैजाने क्रममा दिउँसो करिब १:४५ बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।
घटना पश्चात् मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ। अचानक भएको यस दुर्घटनाले मृतकको परिवार र स्थानीय गाउँ शोकमग्न बनेको छ।
ट्याक्टर चालक प्रहरी नियन्त्रणमा
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको कमाण्डमा १५ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटना गराउने ट्याक्टर र त्यसका चालक गरुडा नगरपालिका–५ निवासी ३9 वर्षीय रामकिशुन यादवलाई तत्कालै नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका चालक यादवलाई हिरासतमा राखी सवारी ज्यान मुद्दा अन्तर्गत आवश्यक कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

0 Comments