बानेश्वर शाखाबाट १८ किलो सुन लुटिएको घटना: पीडितद्वारा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय घेराउ
जेन-जी (Gen-Z) आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट सुन र नगद लुटिएको घटनालाई लिएर पीडितहरू आन्दोलनमा उत्रिएका छन्। सुन धितो राखेर कर्जा लिएका ग्राहकहरूले सोमबार सिंहदरबार प्लाजास्थित बैंकको केन्द्रीय कार्यालयमा पुगेर जोडदार प्रदर्शन गरेका हुन्।
आन्दोलनका क्रममा उक्त शाखाबाट ग्राहकहरूले धितो राखेको करिब १८ किलो सुन र ५ करोड २५ लाख रुपैयाँ नगद लुटिएको थियो। घटना भएको लामो समय बितिसक्दा पनि बैंक प्रशासनले क्षतिपूर्ति वा राहतका लागि कुनै ठोस पहल नगरेपछि बाध्य भएर सडकमा आउनुपरेको पीडितहरूले बताएका छन्।
"हामीले ऋणको धितोका रूपमा राखेको सम्पत्ति सुरक्षित गर्ने जिम्मेवारी बैंकको हो। तर अहिले क्षतिपूर्ति दिनुको साटो व्यवस्थापन पन्छिँदै छ।"
- सरस्वती बस्नेत, सुन धितोकर्ता
आन्दोलनकारीहरूले आफूले धितो राखेको कुल तौल बराबरकै सुन बैंकले फिर्ता गर्नुपर्ने माग राखेका छन्। सोमबार प्रदर्शन गर्दै बैंकको मूल गेटबाट भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो, जसका कारण केही बेर सो क्षेत्रमा तनाव सिर्जना भएको थियो।
"सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो कि के हो सरकार?"
भन्दै पीडितहरूले प्लेकार्डसहित सरकार र बैंक प्रशासनको ध्यानाकर्षण गराएका छन्। बैंकले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने पीडित पक्षले चेतावनी दिएको छ।

0 Comments